२०४१ सालमा गोरुसिंगे, सन्धिखर्क सडकको ट्रयाक खुले पछि अर्घाखाँचीबासीहरु बुटवल कृष्णनगर र पत्थरकोटबाट डोकोमा नुन मट्टितेल बोक्नबाट मुक्त भएका हुन् । त्यस बेलासम्म घ्यू, सुन्तला, टिमुर, सुठो र फापर डोकोमा बोकेर बजार खोज्न तराई झर्नु पर्दथ्यो । त्यो भन्दा पनि एक दशक अघिको कुरा गर्ने हो भने डोकोमा विरामी बोकाएर तीन चार दिनमा उपचारको लागि तानसेनको मिसन अस्पतालमा पुग्नु पर्दथ्यो । एस.एल.सि. को फाराम भर्ने विद्यार्थीहरु फोटा खिचाउन र पुस्तक खरिद गर्न पाल्पा तानसेनको सित्तलपाटी जानु पर्दथ्यो । नागरिकता बनाउदा र फारम भर्दा फोटा चाहिने भएकाले खिमानन्द घिमिरेको रेसुङ्गा फोटो स्टुडियो जिल्लाकै पहिलो फोटो स्टुडियोको रुपमा खुलेको थियो । सदरमुकाम सन्धिखर्क ल्याउन प्रधानमन्त्रीलाई भेट गर्न काठमाण्डौ गएको प्रतिनिधि मण्डल गोरखपुर रक्सौल हुँदै एक सातामा राजधानी पुगेको भुक्त भोगी टोलीका सदस्य अग्रजहरु डिलाराम भुसाल र हिरण्यप्रसाद आचार्यहरु अझै हाम्रो माझ हुनुहुन्छ ।
जिल्लामा चुत्राबेसी, बल्कोट, खिदिम, ठाडा र सतिनेटामा मात्र माध्यमिक विद्यालयहरु थिए । शिक्षण गर्नको निम्ति बनारस र गोरखपुरबाट समेत शैक्षिक जनशक्ति जिल्लामा ल्याउनु पर्ने अवस्था थियो । जिल्लामा प्रवेशिका परीक्षा केन्द्र थिएनन्, यहाँका विद्यार्थीहरु प्रवेशिका परीक्षा दिन गुल्मी कपिलबस्तु र प्युठान पुग्नु पर्दथ्यो । प्युठानमा परीक्षा केन्द्रको बारेमा प्रशासन र विद्यार्थीहरुको वीच विवाद उत्पन्न भएर लाठी चार्ज समेत हुने गर्दथ्यो । २०२८ साल तिरको एस.एल.सि को बेला अर्घाखाँचीबाट परीक्षा दिनको लागि प्युठान गएका विद्यार्थीहरुले प्रहरीहरुसँग भिड्नको लागि गोजामा खुर्सानीको धुलो राखेर जुलुसमा गएको सन्दा रमाइलो पनि लाग्छ । प्रशासनले खलङ्गामा केन्द्र राख्ने तयारी गर्ने तर विद्यार्थीहरुले विजुवारमा केन्द्र रहनु पर्ने माग गर्दा विवाद र संघर्ष हुने गर्दथ्यो ।
पञ्चायती दमन र चर्काे सामन्ती शोषण विरोधी संघर्षमा सहभागी भए वापत २०३० सालमा यो पंक्तिकार समेत जेल चलन हुँदा जिल्ला सदरमुकाम ठाडाबाट नरपानीमा सरेको थियो । स्थायी रुपले कहाँ रहने भन्ने टुङ्गो लागेको थिएन । केहि वर्ष पछि सदरमुकाम जन चाहाना अनुरुप सन्धिखर्क त झ¥यो तर विकासको प्रक्रिया अघि बढ्न सकेको देखिँदैन । राजा विरेन्द्रको विकासको मुल फुटाउने र नेपाललाई एसियाली मापदण्डमा पु¥याउने घोषणा नारामा मात्र सिमित हुन पुग्यो ।
२०४३ साल जेष्ठ २३ गते साँझ ८ बजे तिर १२ वर्ष ६ महिनाको पञ्चायती जेलमा कठोर काराबास भोगेर म मुक्त आकाशमा आएको थिए । भर्खर जेल मुक्त भएकाहरुप्रति सरकारी निगरानी कडा रहने गर्दथ्यो । राजनीति कार्यकर्ता, सञ्चारकर्मी, बुद्धिजिवी समुदायको शिरमा डेमोक्लिजको तरबार झुण्डिएको हुन्थ्यो । जुन तरबार कुन बेला कसको गर्धनमा बज्रने हो ठेगाना रहँदैनथ्यो । २०३६ सालको जनगणनाबाट सुधारिएको भनिएको पञ्चायती व्यवस्थामा धमिरो लागेको भएता पनि सारमा निर्दलीय तानाशाही नै थियो । राजनैतिक दलको नाम अगाडि प्रतिबन्धित शब्द नलेखिकन पत्र पत्रिका छापिनु गैर कानूनी हून्थ्यो । पञ्च र प्रशासनले पञ्चायत इतर वीचार राख्नेहरुलाई अराष्ट्रिय र अबान्छित तत्वको संज्ञा दिएका थिए । बहुदलीय शासन पद्धतिलाई नेपालमा अभाव सिद्ध भएको घोषणा गरिएको थियो ।
अहिलेको जस्तो सञ्चार माध्यमको विकास भई सकेको थिएन । आकाशवाणी (आ.वा) भनिने ताररहित टेलिफोन सरकारी सञ्चारको प्रमुख माध्यम थियो । राजधानी वा विदेशमा आ.वा गर्न सदरमुकाम धाउनु पर्ने बाध्यता थियो । पत्रपत्रिका र सञ्चार माध्यममा एकातर्फ सरकारी नियन्त्रण थियो भने अर्काे तर्फ नयाँ प्रविधि पनि जिल्लामा प्रवेश गरि सकेको अवस्था थिएन । अफसेट प्रेस आईपुगेका थिएनन् । मोतिराम भट्टको पाला नेपाल प्रवेश गरेको गिद्दे प्रेसका परिमार्जित रुप लेटर प्रेस र टाईप राइटरको जमाना थियो । २०४२ सालमा स्थापित नेपाल टेलिभिजनको प्रशारण गाउँ घरमा पुगी सकेको थिएन । ग्रामिण इलाकाहरुमा सरकारी सामुदायिक सूचनाहरु कटुवालको हाक मार्फत प्रभावित हुने गर्दथे ।
अहिले जस्तो गाउँ घरमा बोर्डिङ्ग स्कूलहरु स्थापना भएका थिएनन् । सदरमुकाममा दार्जलिङ्ग र झापा खुदुनाबारी भुटानी शरणार्थी शिविरबाट युवा युवतीहरु ल्याएर बोर्डिङ्ग स्कुल चलाउनु पर्ने स्थिति थियो । आज भोली निजि स्कूलहरु आधुनिक जीवनको अभिन्न अंग बन्न पुगेका छन् । त्यति बेला खास गरी कम्युनिष्टहरुको प्राइभेट स्कूल प्रतिको दृष्टिकोण सकारात्मक थिएन । निजि विद्यालयहरुको प्रचलनले मुलुकमा दुई थरी नागरिकहरु उत्पादन गर्दछन् भन्ने आरोप लगाउने गर्दथे ।
जिल्लामा निजि स्वास्थ्य संस्थाहरु पनि खुली सकेका थिएनन् । सदरमुकाममा १५ सैयाको सरकारी अस्पतालमा ३ जना डाक्टरहरुको दरबन्दी रहे पनि १ जनाले मात्र काम चलाउने गर्दथे । अञ्चल सदरमुकाम बुटवलमा पनि अहिलेको जस्तो स्वास्थ्य सेवा उपलब्ध थिएन । २०४५ सालमा यो पंक्तिकारलाई किड्नीमा पत्थरी परेको आशंकामा भिडियो एक्सरे गराउन लुम्बिनी अञ्चल अस्पतालका तत्कालिन मे.सु. डा. असर्फी शाहले गारेखपुर पठाएका थिए । राजधानीको शिक्षण अस्पतालमा बाहेक भिडियो एक्सरे मेसिन अन्यत्र कही पनि नभएको उनले बताएका थिए ।
वि.सं. २०४५ सालको अन्त्यतिर भारतले नेपाल भारत वाणिज्य सन्धि नविकरण गर्न आनाकानी गर्दै सिमापारीबाट नुन मट्टिटेल नेपाल आउन रोक लगायो । चिनि पनि जिल्ला प्रशासनको रोहवरमा कन्ट्रोलमा किनबेच हुन थाल्यो । कम्युनिष्ट पार्टिहरुले नाकाबन्दी विरोधी आन्दोलनलाई पञ्चायत विरोधी आन्दोलनमा बदल्ने नीति अपनाए । आन्दोलनको क्रममा दर्जनौ बामपन्थी युवाहरुलाई राजकाज मुद्दा अन्तरगत जेल चलन हुनु प¥यो । त्यति बेला अर्घाखाँचीमा कारागार भवन पनि निर्माण भई नसकेकोले थुनुवाहरुलाई गुल्मीको तम्घास र कपिलबस्तुको तौलिहवा कारागार पु¥याउनु पर्दथ्यो ।
पञ्चायती व्यवस्थाको अवशान पछि अर्घाखाँचीका कम्युनिष्ट र कांग्रेस कार्यकर्ता वीच अस्वस्थ्य प्रतिस्पर्धा उत्पन्न भयो । पुरानो शक्ति नेपाली कांग्रेसले नवोदित शक्तिलाई स्थान दिन मानसिक रुपले तयार नभएकोले तीक्तताको अवस्था आएको थियो । निर्वाचनको समयमा यस्ता तीक्तता र प्रतिस्पर्धाहरु भौतिक आक्रमणमा समेत रुपान्तरित हुने गर्दथे । २०४६ सालमा बहुदलीय व्यवस्थाको स्थापना पश्चात राजनैतिक बहस र विवादको घेरा साँघुरो रहेकाले राजनैतिक परिवर्तन भएको वर्ष दिन भित्रै संविधान घोषणा हुन सकेको थियो । आम निर्वाचन सम्पन्न भएपछि मूलुकले स्पष्ट गोरेटो र गति लिँदै गर्दा शसस्त्र द्वन्दको अवस्था उत्पन्न भयो । द्वन्द कालमा २÷२ पटक ध्वस्त हुन पुगेको अर्घाखाँची सदरमुकाम अहिले खरानी टक्टकाउँदै उभिएको छ भन्दा अत्युक्ति नहोला । १ दर्जन जति स्थानीय राजनीतिक कर्मी, व्यवसायी, कर्मचारी र पत्रकार तथा सरकारी र विद्रोही गरी दर्जनौ सेना प्रहरी जवान र लडाकुहरु गुमाएर आमाहरुको काख र युवतीहरुको सिउदो रित्याएको अर्घाखाँचीले चहराई रहेका घाउहरुमा मलमपट्टि लगाई रहेको छ । जिल्ला मालपोत कार्यालयमा रहेका किसानका जग्गा सम्बन्धि अभिलेखहरु सदरमुकाम आक्रमणको क्रममा ध्वस्त भएकाले किसानहरु सबै भन्दा बढि द्वन्द प्रभावित र पीडित हुन पुगेका छन् ।
शासकहरुको अदुरदर्शिता त थियो नै त्यसमा द्वन्दकाल थपियो । ध्वस्त हुन पुगेका भौतिक संरचनाहरुको पुनर्निर्माण सम्पन्न हुँदै छ । प्रगतीको प्रचुर सम्भावना रहेको यो जिल्लामा विकास निर्माणले गति लिन शुरु गरेको छ । कृषि र पर्यटन विकासलाई जिल्लाले पहिलो प्राथमिकतामा राखेको छ । कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्ने प्रयासहरु भएका छन् । व्यवसायिक कृषिकहरुले दुध, फलफुल र तरकारी उत्पादनमा ध्यान केन्द्रित गरेको देखिन्छ । बाख्रा, बंगुर र कुखुरापालन व्यवसाय मौलाएको अवस्थामा छ । अर्घाखाँचीको तरकारी दिल्ली तर्फ निर्यात भएको सञ्चार माध्यममा आउन थालेको छ । एक जिल्ला एक उत्पादनको नीतिले अर्घाखाँचीलाई मह उत्पादनको केन्द्र बनाउने प्रयास गरेको छ । एक गाउँ एक उत्पादन तर्फ यो नीति विस्तार गर्ने सोँच रहेको छ । आर्थिक रुपले क्रियाशिल जनशक्ति रोजगारीको निम्ति विदेश पलायन हुने प्रवृत्ति बढेकोले बाँझो रहन शुरु गरेका खेतबारीहरु विस्तारै आधुनिक कृषि फारममा परिणत हुने संकेत देखिएको छ । विदेशमा सीप सिकेर फर्केका कतिपय युवाहरुले अहिले जिल्लामा पशुपंक्षी फारम खोलेर आय आर्जनमा संलग्न रहन शुरु गरेको अवस्था छ ।
पर्यटकीय दृष्टिकोणले अर्घाखाँची सुन्दर जिल्ला मानिएको छ । पणेना देखि सेङलेङसम्मको महाभारत पर्वतबाट उत्तरतर्फका हिमाच्छादित सुनौला चूचुराहरु अवलोकन गर्न सकिन्छ । यो क्षेत्रमा पर्यटकीय पदमार्ग र होमस्टेको प्रबन्ध गर्ने सोँच बनेको छ । लुम्बिनी भ्रमणमा आउने विदेशी पर्यटकहरुलाई ठाडा नरपानी सन्धिखर्क रेसुङ्गा रिडि पाल्पा हुँदै विमान चढ्न लुम्बिनी अन्तराष्र्टि«य विमान स्थलमा पु¥याउने प्रबन्ध मिलाउन सकिन्छ ।
जिल्लाका धार्मिक ऐतिहासिक स्थलहरुको व्यवसायिक उपयोग गर्न सकिन्छ । पाणिनि तपोभूमी, अर्घा र खाँचीका भगवती मन्दिरहरु बल्कोटको पौवा, जंगबहादुर राणाको जन्मथलो मथुराबेसीको लामपाटि, छत्रगंजको छत्रको थान, हंसपुरको नरसिंह थान, खिदिमको सत्तले गुफा, ठाडा र सेंलेङ्गका दहहरु, अर्घा, डिभर्ना र डेवामा हालै पत्ता लागेका गुफाहरु पर्यटकीय महत्वका स्थानहरु हुन् ।
खनिज स्रोतको दृष्टिमा पनि अर्घाखाँची अँगाडि नै देखिन्छ । राणकालमा बन्द गरिएका फलाम र तामा खानिबाट निकालिएका फलाम र तामाका घरेलु भाँडा कुँडाहरु अहिलेपनि गाउँ घरमा भेटिन्छन् । कतिपय स्थानहरुको नाम खानिदुला (खानदुला) रेहेको पाईन्छ । नरपानी र खाँचीकोटमा गुणस्तरिय चुन ढुङ्गा फेला परेको छ । हाल आएर चुनढुङ्गा उत्खनन बिवादित र स्थगित भएको भए पनि भविष्यमा पुन सुचारु हुनेछ ।
यातायातको हिसाबले अर्घाखाँची जिल्ला सुगम बनिसकेको छ । सदरमुकामबाट जुनसुकै गा.वि.स. पुगेर पनि सजिलै साँझ सन्धिखर्क फर्कन सकिन्छ । कर्मचारी विग्रे अर्घाखाँची भन्ने पुरानो उखानले आफ्नो सान्दर्भिकता गुमाई सकेको छ । जिजु बाजेहरुले डोकाको पिँधमा आटो र सातु राखेर जंगलमा बास बस्दै कोदालोले खनेको बाटो एक दशक अघि कालो पत्रे भएपछि यो जिल्ला विकासको राष्ट्रिय मुल धारमा सामेल भएको छ । हाल निर्माणाधिन ढोरपाटन सडकले विकाशको अर्को संभावना खोल्दैछ । केहि वर्ष पछि डोरपाटन आरक्षण भ्रमण गर्ने पर्यटकहरु सालझण्डी सन्धिखर्क पुर्काेटदह हुँदै आफ्नो गन्तब्य तर्फ लाग्ने छन् ।
स्थानीय निकाय जनप्रतिनिधि विहिन रहेकोले सडक निर्माण गर्दा कतिपय स्थानमा अराजकता उत्पन्न भएको र बढि क्षेति भोग्नु परेको अवस्था पनि रहेको छ । प्राविधिक हिसाबले कमजोर धरातलमा जे.सि.बि. चलाउँदा भु–क्षय र भूस्खलन बढेको अबस्था छ, तर पनि दशकौसम्मलाई कालो पत्र गर्न पुग्ने ट्रयाकहरु खुलिसकेको छन् ।
सबै गा.वि.स. हरुमा मा.वि. उ.मा.वि. स्थापना भएका छन् । कतिपय उ.मा.वि. कक्षाहरुमा बुहारि छात्राहरुको संख्या बढिरहेको देखिन्छ । क्याम्पसहरुको संख्या आधा दर्जन पुगेको छ । मथुरा बेसि र अड्गुरिमा कृषि क्याम्पसहरु खुल्दैछन् । जिल्ला भित्रै कृषि विज्ञान पढ्न पाउने अवस्था बन्दै गरेको छ ।
स्वास्थ्य क्षेत्रमा संख्यात्मक प्रगति भएको देखिन्छ । एउटा तीस सैयाको जिल्ला अस्पताल र दुई वटा प्राथमिक स्वास्थ्य केन्द्रहरु रहेका छन् प्रत्यके सवै गा.वि.स. मा उप–स्वास्थ्य चौकीहरु स्थापना भएका छन । यि अस्पतालहरुमा पाँच जना एम.बि.बि.एस. डाक्टरहरुको दरबन्दी रहेको छ । निजि क्षेत्रका अस्पताल र नर्सिङ होमको संख्या पनि बढ्दै छ ।
ब्यवसायिक कृषकहरुले आफ्ना उत्पादनको बिमा गर्ने व्यवस्था र सरकारी सबसिडिको व्यवस्था हुनुपर्ने माग गरेको छन् । मल र बिउमा अनुदान उपलब्ध हुनु पर्ने किसानहरुको माग रहेको छ । आफूले व्यवसायिक रुपमा पालेका पशुपंक्षी र अन्य कृषि उत्पादनको लागि बजार सँगको पहुँच हुुनुपर्ने देखिन्छ । आजभोलि अर्घाखाँचीका दुध तरकारी र मासु उत्पादनमा आत्मनिर्भरोन्मुख हुन थालेको छ । कृषि फारमहरु खुल्ने क्रममा रहेका छन ।
पत्रकारिताको क्षेत्रमा पनि अर्घाखाँची अगाडिबढ्दै छ । एक दर्जन जति पत्रपत्रिकाहरु यस जिल्लावाट प्रकाशित हुने गरेका छन । नियमित र निरन्तर प्रकाशित हुन नसके पनि १०० जना भन्दा बढी उत्साहि र उर्जाशिल युवा युवतीहरु पत्रकारीता क्षेत्रमा क्रियाशिल रहेका छन् । ४ वटा एफ.एम रेडियो र दुई वटा स्थानीय टेलिभजन च्यानलहरु चालु अवस्थामा रहेका छन् । यी सञ्चार माध्यमहरुबाट सामाजिक क्षेत्रका घटना तथा विकास निर्माण सम्बन्धि राष्ट्रिय अन्तराष्ट्रिय सूचनाहरु गाउँ घरहरुमा समेत प्रवाह हुने गरेका छन् ।
विगत २५ वर्ष तिर फर्केर हेर्दा अर्घाखाँचीको समाजमा धेरै परिवर्तन भएको देखिन्छ । सन्धिखर्क सदरमुकामको सेरोफेरो प्राचिनताको सुचक र सदरमुकाम आधुनिकताको बाहक बनेको छ । सदरमुकाम नजिकै ढुङ्गाको छानो भएका कुमाल जातिका घरहरुमा प्रयोगविहिन अवस्थामा रहेका माटाका भाँडा बनाउने चक्रहरु देख्न सकिन्छ । सरकारी विद्यालयहरुमा दलित जनजातिका र निजि विद्यालयहरुमा व्यापारी कर्मचारी, शिक्षक र अन्य अन्तरगत रहेकाहरुका छोराछोरीहरुले पढ्ने गरेको पाइन्छ । अहिले अर्घाखाँचीको अर्थतन्त्रको मुख्य अंश रेमिट्यान्स रहेको छ । युवाहरुको सामान्य इच्छा रोजगारीको लागि विदेश पलायन हुने रहेको देखिन्छ । युवाहरुलाई जिल्ला मै उपयुक्त रोजगारीको मेसो मिलाउन सके जिल्लाले केहि वर्षमा कायापलट गर्न सक्ने देखिन्छ । युवाहरुले पनि अघिल्लो पुस्तासँगै लोप हुन आँटेका पुराना सीपहरु समेत सिकेर ति सीपहरुलाई आधुनिकीकरण र व्यवसायीकरण गर्न सके स्वरोजगारका अवसरहरु वृद्धि हुने सम्भावना प्रबल रहन्छ । नीति निर्माता तथा योजनाकारहरुले बुद्धि पु¥याउन सके अर्घाखाँचीको भविश्य उज्जल हुने कुरामा दुईमत छैन ।
सम्पादन सहयोगी ः भुवन केसी







No comments: