जेष्ठ नागरिकहरु समाज रुपान्तरण प्रक्रियाका अभिन्न अंगहरु हुन् । उनीहरुको योगदाले नै मानव समाज पूर्णतातर्फ अग्रसर रहेकोछ । जेष्ठ नागरिकहरु मुलुकको आर्थिक राजनैतिक सामाजिक परिवर्तनका साक्षी र सहभागिहरु हुन् । अहिलेका बरिष्ठ व्यक्तित्वहरुले आफनो जवानीमा समाज विकासका विभिन्न क्षेत्रमा क्रियाशील रहेर सामजसेवा गरेका छन । हजुरबा हजुरआमाका रुपमा स्थापित यी बृद्धबृद्धाहरु परम्परागत ज्ञान सिपका श्रोत व्यक्ति मानिएका छन् । उनीहरुसँग रहेका उपयोगी ज्ञानसिपहरु लोपोन्मुख अवस्थामा पुगेका छन् । नयाँ पुस्तामा हस्तान्तरण हुने परिवेश मिलाउन नसक्ने हो भने पुर्खाहरुले हजारौ बर्षको खोज तथा प्रयोगबाट खारिएको ज्ञान सिप उनीहरुको मृत्युसगै लोप भएर जाने संभावना छ ।नेपालको जेष्ठ नागरिक ऐन र नियमावलीले ६० बर्ष उमेर पार गरेका महिलापुरुषहरुलाई जेष्ठ नागरिकको रुपमा परिभाषित गरेको छ । यो परिभाषा संयुक्त राष्टसघंले गरेको व्याख्यासँग मेल खान्छ । २०५१ सालदेखि तत्कालिन श्री ५ को सरकारले जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको र बृद्धबृद्धाहरुको योगदानको कदर गर्दै राज्यको लोककल्याणकारी प्रकृृति देखाएको छ । जेष्ठ नागरिकहरुलाई लक्षित समुहमा समावेश गरेर भत्ता रकम क्रमशः बृद्धि गर्दै ल्याएको छ । बृद्धभत्ता समास्याको एउटा पाटो मात्र हो । ऐनमा जेष्ठ नागरिकहरुले सार्वजनिक यातायातहरुमा ५० प्रतिशत छुट सुविधा पाउनेछन् भनी लेखिएको धेरै बर्ष वितिसक्दा पनि व्यवहारमा लागु हुन सकेको छैन । त्यसैगरि सरकारी स्वास्थ्य संस्थामा उपचार गराउदा छुट हुने भनिएको छ तर व्यवहारमा लागु भएको पाइदैन् । यी छुट सुविधाहरुबारे सेवा प्रदायक संस्थामा कार्यरत कर्मचारीहरु र सेवाग्राहीहरुलाई समेत राम्रो जानकारी रहेको पाइदैन् ।
२०६८ सालको राष्ट्रिय जनगणना अनुसार नेपालको कुल जनसंख्यामा करिव २३ लाख जेष्ठ नागरिकहरु रहेका छन । यो संख्या कुल जनसंख्याको करिव ९ प्रतिशत हुन आउँछ । नयाँ पुस्तामा जन्मदर नियन्त्रण, स्वास्थ्य सुविधाहरुको उपलव्धता र जीवनस्तरमा सुधारले गर्दा जेष्ठ नागरिकहरुको संख्या बृद्धि हुँदै गएको छ । औसत आयु बृद्धि हुँदा जेष्ठ नागरिकहरुको संख्या पनि बढदै जान्छ ।
बर्तमान समाजमा जेष्ठ नागरिकहरुको अवस्था भने सन्तोषजनक देखिदैन । समाजमा परम्परागत मुल्यमान्यताहरु हराउदै गएका छन् । नयाँ पुस्तामा उहिलेका कुरा खुइलिए भन्ने मान्यता विकास हुँदैछ । “आगो ताप्नु मुढाको अर्ति सुन्नु बुढाका”े भन्ने उखानले सान्र्दभिकता गुमाउदैछ । युवाहरु बैदेशिक रोजगारीमा जानुुुपर्ने बाध्यताले पनि जेष्ठ नागरिकहरुलाई राहत भन्दा पनि कतिपय अवस्थामा आहात पारेको छ । परिवारिक विखण्डन र एकल परिवारको लोकप्रियताले पनि बृद्धबृद्धाहरु उपेक्षित भएका छन् । परिवारभित्र उनीहरुको गन्थन सुन्न आवश्यक ठानिदैन । छोराबुहारीहरुलाई बुद्धबृद्धाहरुको गुनासो सुन्ने फुर्सत पनि रहदैन । यसरी परिवारभित्र जेष्ठ नागरिकमैत्रि वातावरण हराउदै गएको छ । उनीहरुको मनमा धेरै किसिमका उकुसमुकुस रहेको हुन्छ र उनीहरुलाई मानसिक सन्तुष्टी प्राप्त भएको हुदैन ।
खासगरि घना आवादी भएका क्षेत्रहरुमा जेष्ठ नागरिकहरुलाई समय विताउन, जिवनका अनुभव र अनुभुतिहरु साट्न एउटा औपचारिक एवं व्यवस्थीत मञ्चको आवश्यकता वोध हुदै आएकोछ । विकसित मुलुकहरुमा जेष्ठ नागरिक क्लव स्थापित हुने गर्छन । उनीहरुको कल्याणको निम्ति राजकीय बजेटको ठूलो अंश छुटटयाइएको हुन्छ ।
नेपालको जेष्ठ नागरिक ऐन र नियमावलीले निश्चित सर्त पुरा गरेर जेष्ठ नागरिकहरुको निम्ति दिवा सेवा केन्द्र स्थापना गर्न सकिने व्यवस्था गरेकोछ । यस्ता केन्द्रहरुमा जेष्ठ नागरिकहरु भेला भएर भजन किर्तन गर्ने, पत्रपत्रिका पढन्े, आफुमा रहेको ज्ञानसिपको चर्चा गर्ने, धार्मिक प्रवचनहरु श्रवण गर्ने र जिवनका अनुभवहरु आपसमा साटासाट गर्ने कार्य गर्न सक्दछन । अनुभव आदान प्रदानले उनीहरुलाई रमाइलो बनाउछ मन हल्का हुन पुग्छ । जिन्दगीको उत्तराद्र्धमा पुगेका यी डाँडाका जुनहरुले जीवन सार्थक भएको महसुस गर्न सक्दछन् । बाँकि जीवन रमाइलो गरि विताउन सक्दछन् ।
नेपालमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय अन्र्तगत सामाजिक सुरक्षा शाखा रहेको छ । स्थानिय निकाय जिविस, नगरपालिका र गाविसहरुमा जेष्ठ नागरिकहरुको हितको निम्ति बजेट विनियोजन हुने नितिगत व्यवस्था भएकोछ मन्त्रालयले स्थानिय महिला तथा बालबालिका कार्यलय मार्फत जेष्ठ नागरिक परिचय पत्र वितरण गर्दैछ । परिचय पत्र प्राप्त गर्न जेष्ठ नागरिकहरु महिला तथा बालबालिका कार्यालयमा आफै उपस्थित हुनु पर्ने व्यवस्था जेष्ठ नागरिकमैत्री नरहेकोले धेरै जिल्लाहरुबाट स्थानिय नगरपालिका र गाविस कार्यलय मार्फत परिचयपत्र वितरणको व्यवस्था मिलाइयोस भन्ने माग भएको छ ।
गाँउ टोल र गल्लीको केन्द्रमा स्थापित यस्ता दिवा सेवा केन्द्रहरुमा त्यस भेगका जेष्ठ नागरिकहरुरु दिउसो जम्मा हुने र अपरान्हतिर विदा हुने व्यवस्था मिलाइएको हुन्छ । कतिपय दिवासेवा केन्द्रहरुमा जेष्ठ नागरिकहरुका जन्मदिवश मनाउने र शुभकामना आदान प्रदान गर्ने गरिन्छ । यस्ता कार्यहरुबाट जेष्ठ नागरिकहरुलाई राज्य र समाजले आफुहरुलाई नविर्सिएको महसुस गर्दछन् । आफुहरुलाई धन्य ठान्दछन् । जीवन सही किसिमले भोगेको अनुभुति गर्दछन । समाजमा एउटा सकारात्मक सन्देश प्रवाह हुन्छ । उनीहरुको सम्मानमा बृद्धी हुन्छ । उनीहरुले गरेको योगदानको कदर हुन्छ तसर्थ बृद्धाश्रम भन्दा आफनो व्यवस्थित घरपरिवार भएका जेष्ठ नागरिकहरुलाई दिवा सेवा केन्द्रले बढि सेवा दिन सक्दछ । दिवा सेवा केन्द्रहरुमा रचनात्मक किसिमले समय विताउन सकिन्छ ।
-बुद्धि रायमाझी, अध्यक्ष,
जे.ना.स. नेपाल, अर्घाखाँची
मिति ः २०७३ भाद्र १५







No comments: